प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न, ११७ जना लाभान्वित ।
तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।
सो शिविरमा ११७ जनाले सेवा लिएका छन् जसमा प्रेस काउन्सिल नेपाल, न्युनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभागका कर्मचारीलगायत विभिन्न मिडियामा कार्यरत पत्रकारको उपस्थित रहको थियो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार समाजको तेस्रो आँखा भएकाले पत्रकारको आँखा झन् तेजिलो हुनुपर्ने बताउनुभयो । प्रतिष्ठान र काउन्सिलबीचको सहकार्य र समन्वय आगामी दिनमा अझै प्रगाढ बनाइने उहाँले स्पष्ट पार्नुभयो । प्रतिष्ठानका वरिष्ठ मानव संसाधन व्यवस्थापक मुकेश कुमार सिहंले समाजलाई सहि दिशानिर्देश गर्ने पत्रकार वर्गका आँखा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि अधिकतम सहकार्य गर्न तत्पर रहनेछौ भनी प्रतिवद्धता व्यक्त गर्नुभयो ।