• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

जलबिन्दुले खोसेको खुसी जब फर्कियो

  • 2022-03-13 14:34:43

विवाह भएको चार वर्षपछि सन्तान जन्मँदा कैलाली, भजनी-४ का खुशीराम चौधरी खुसी थिए। तर, क्षणभरमै अँध्यारो अनुहार लगाए। चिकित्सकले नवजात शिशुको आँखामा समस्या भएको बताउँदा छाँगाबाट खसेझैं भए। 

धनगढीस्थित सेती अञ्चल अस्पतालको शय्यामा रहेकी सुत्केरी पार्वतीलाई प्रसवको घाउभन्दा छोराको आँखाले पिरोल्यो। चौधरी दम्पतीले खुसी खोसिएको महसुस गरे। ‘के भएको भन्ने थाहा थिएन। डाक्टरहरूले त जन्मनेबेला दिसा सेवन गरेर हो कि भन्ने शंका गरे।’ शल्यक्रिया गरेका सातमहिने शिशु आयाम्सलाई पुलुक्क हेर्दै उनले भने, ‘छोरालाई जलबिन्दु भएको काठमाडौं ल्याएर मात्रै थाहा पाएँ।’ उनको अहिले तीलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया भएको छ। 

भजनी-५, कैलालीका नौमहिने चिरञ्जीवीको जन्मनेबित्तिकै बायाँ आँखामा सेतो देखियो। ‘छोरोले जन्मने क्रममा दिसा खाएकोले आँखामा सेतो भएको डाक्टरले बताएका थिए। हामीलाई त के थाहा र ?’ ३० वर्षीय प्रेम बुढाले अन्नपूर्णसँग भने, ‘दिसा खाएका कारण संक्रमण भई देब्रे आँखामा सेतो देखिएको शंका डाक्टरले गर्नुभयो।’ तीन दिनपछि गेटा आँखा अस्पतालमा लगियो। त्यहाँका चिकित्सकले जलबिन्दु भएको शंका गरे। उपचार भइरहेको छ। 

सबै उमेरमा जोखिम 
जलबिन्दु भएका शिशुसँगै भेटिए ३४ वर्षीय साङ्दे शेर्पा। गौरीशंकर-४, दोलखाका शेर्पा जलबिन्दुको शल्यक्रियापछि फलोअपका लागि पुगेका रहेछन्। ‘विद्यार्थीलाई पढाउँदा आँसु आउँथ्यो। बायाँ आँखाले काम नगरे जस्तो लाग्दै गयो। मोटरसाइकल चलाउँदा अप्ठ्यारो भयो। पछि जँचाउँदा जलबिन्दु भएको पत्ता लाग्यो।’ ३४ वर्षीय शेर्पाले भने, ‘विश्वासै लागेन। तीन ठाउँमा गएर आँखा जचाँए। सबै ठाउँमा जलबिन्दु भनेपछि विश्वास नगरी सुखै पाइएन। शल्यक्रिया पनि गरें।’

जलबिन्दुका बिरामीको भीडमा थिए ललितपुर, सातदोबाटोका ६९ वर्षीय मंगल महर्जन। ‘जलबिन्दु भएको दुईवर्ष भयो। आँखामा औषधि हालिरहेको छु। उमरेका कारण पनि अप्रेसन गरेको छैन।’ उनले भने, ‘प्रतिष्ठानकी जलबिन्दु विशेषज्ञ डा. इन्दिरा पौडेल (रूपाखेती) लाई जलबिन्दुका बिरामीको आँखा जाँच गर्दैमा भ्याइनभ्याइ छ। ‘जुनसुकै उमेरका व्यक्तिलाई पनि जलबिन्दु हुन सक्छ,’ उनले भनिन्। 

तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत नेपाल जलबिन्दु आँखा क्लिनिकले जलबिन्दु रोगसम्बन्धी चेतना जगाउन सञ्चालित जलबिन्दु सचेतना सप्ताहमा आएका बिरामीको भीड छ। सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस् भन्ने नाराका साथ जाँच तथा उपचार उपलब्ध गराउने उद्देश्यले सप्ताह चलिरहेको छ। प्रतिष्ठानकी वरिष्ठ जनसम्पर्क अधिकृत सुनिता केसीका अनुसार, मुलुकका विभिन्न क्षेत्रबाट आएका नयाँ तथा पुरानो गरेर बिरामीको जाँच तथा उपचार प्रदान गरिनेछ। साथै जलबिन्दुसम्बन्धी विभिन्न जानकारी तथा परामर्श प्रदान गरिनेछ। 

सन् २००४ देखि सुरु भएको यस साताव्यापी सचेतना कार्यक्रममा अहिलेसम्म करिब ६ हजार सेवाग्राहीले सेवा लिइसकेको केसीले बताइन्। अशक्त तथा आर्थिक अवस्थाकोे कारणले गर्दा उपचार बञ्चित बिरामीको प्रतिष्ठानकै जलबिन्देु सपोर्ट ग्रुपले निःशुल्क जाँच तथा उपचार गर्ने गरेको छ।

के हो जलबिन्दु ?
जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ)मा असर गर्छ। आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन्। जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ। समयमा उपचार नपाउँदा सुटुक्क दृष्टि गुम्छ। 

प्रतिष्ठानको जलबिन्दु युनिटका प्रमुख तथा जलबिन्दु विशेषज्ञ डा. इन्दिरा पौडेलका अनुसार, चाप (प्रेसर)ले विस्तारै आँखाको नसा (अप्टिक नर्भ)लाई विस्तारै क्षति गर्छ। नसामा असर पुग्दा दृष्टि क्षमता पनि विस्तारै कमजोर हुन पुग्छ। यसरी नसालाई पूर्णरूपमा क्षति पुर्याई दृष्टिविहीन बनाउने रोग नै जलबिन्दु हो। जलबिन्दु पुनःदृष्टि प्राप्त गर्न नसकिने अन्धोपना हो। जलबिन्दुले वरिपरिको दृष्टि घटाउँदै लैजान्छ। केन्द्रमा प्रभाव पार्दै जान्छ। ४० वर्ष नाघेका व्यक्तिमा जलबिन्दु बढी देखिने गरेको छ। 

आँखाको गेडीभित्र एक प्रकारको पानीजस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ। ‘यदि एकयुसको उत्पादन मात्रा बढी हुन सक्छ। त्यस्तै निकास मार्गमा कुनै अवरोध आउन सक्छ। निकास हुन नसकेको तरल पदार्थ आँखाको गेडीभित्र नै थुनिएपछि आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ,’ डा. पौडेलले भनिन्।

विश्वभरिमै दृष्टिविहीन गराउने प्रमुख रोगहरूमध्ये यो दोस्रोमा पर्छ। परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रूपमा सन्तानमा पनि जलबिन्दु हुन सक्ने डा. पौडेलले जानकारी दिइन्। ‘हजुरबुवा/हजुरआमामा जलबिन्दु भएको छ भने नातिनातिनामा पनि 

देखिन सक्छ। ४० वर्ष काटेका सयमा दुई जनामा जलबिन्दु देखिन सक्ने विभिन्न तथ्यांकले देखाएको छ,’ उनले भनिन्।उच्च प्लस पावर र उच्च माइनस पावर चस्मा लगाउनेमा र आँखामा चोट लागेमा नसामा क्षति पुगी जलबिन्दुको हुने जोखिम हुन्छ। डा. पौडेलले भनिन्, ‘समयमा पहिचान गर्न नसक्ने र उपचार हुन नसके दृष्टि गुम्छ। जीवनभर दृष्टिविहीन हुनुपर्ने अवस्था रहन्छ।’

कतिपय औषधि जथाभावी रूपमा प्रयोग गर्दा पनि आँखाको चापमा झन् दबाब पर्छ। स्टेरोइड औषधिले पनि आँखाको चाप बढाउन सहयोग गर्छ। फलस्वरूप, नसालाई क्षति पुग्छ। प्रतिष्ठानकी जलबिन्दु विशेषज्ञ डा. इन्दिरा पौडेल (रूपाखेती)का अनुसार, जलबिन्दुका कारण दृष्टि क्षमता विस्तारै कमजोर हुँदै जान्छ। ‘समयमा पत्ता लागेन र उपचार पनि हुन सकेन भने दृष्टि क्षमतापूर्ण रूपमा गुम्छ,’ उनले भनिन्।

चिकित्सकहरूका अनुसार, जुनसुकै उमेरका व्यक्तिलाई पनि जलबिन्दु हुन सक्छ। ‘कोख (पेट)मा रहँदा पनि जलबिन्दु हुन सक्छ। जन्मँदा नै जलबिन्दु देखिन सक्छ,’ डा. पौडेलले भनिन्। शिशुलाई जलबिन्दु पुष्टि भएमा तत्कालै शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। सातमहिने आयाम्स र नौमहिने चिरञ्जीवीको आँखाको नसामा क्षति पुगेको पाइएको छ।

सुटुक्क दृष्टि गुम्छ 
जलबिन्दुको लक्षण नै नदेखिन सक्छ। कतिपयमा आँखासम्बन्धी समस्याहरू देखिन सक्छ। कम्प्युटर शिक्षक शेर्पाका अनुसार, विद्यार्थीलाई पढाउँदाखेरी मात्र नभई मोटरसाइकल चलाउँदा पनि आँसु आउँथ्यो। कहिलेकाहीँ चक्कर लाग्थ्यो। ‘दायाँ आँखा जति प्रष्टरूपमा बायाँ आँखाले नदेखे झैं महसुस भयो,’ उनले भने, ‘बायाँ आँखामा जलबिन्दु भइसकेको रहेछ। दायाँ आँखाले प्रष्ट रूपमा देख्ने हुँदा थाहा पाउन ढिलो भयो। राति मोटरसाइकल चलाउँदा उकालो ओरालोेमा अप्ठेरो महसुस भयो। बायाँ आँखाले कामै नगरेको जस्तो लागेपछि जँचाए।’ डा. पौडेलका अनुसार, परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रूपमा परिवारको सदस्यलाई हुने सम्भावना हुन्छ। मधुमेह, उच्च रक्तचापका बिरामीलाई अप्रत्यक्ष रूपमा आँखाको नसामा चाप पर्न सक्छ। 

यस्तो अवस्थामा परेर पनि जलबिन्दुको जोखिम हुन्छ। ‘आमाबुवामा जलबिन्दु छ भने सन्तानले सतर्कता अपनाउनुपर्ने डा. पौडेलको सुझाव छ। महिला र पुरुष दुवैमा जलबिन्दुको समस्या झन्डै उस्तै देखिने गरेको छ। तर, उपचार गर्न भने महिलाहरू ढिलो आउने गरेको पाइएको छ। ‘चालिसे लागेको भएर आँखा कमजोर भएको होला भन्ने सोचाइ पाइएको छ। सामान्य जाँच गर्न आएका व्यक्तिलाई जलबिन्दु भएको सुनाउँदा आश्चर्यमा पर्ने गर्छन्,’ उनले भनिन्। जटिल अवस्थामा पुगेको व्यक्तिको शल्यक्रिया गरे पनि दृष्टि क्षमता फिर्ता पाउन नसकिने डा. पौडेलको भनाइ छ। 

उपचार
जलबिन्दुको उपचारका लागि औषधि र शल्यक्रिया दुई विधि छन्। जलबिन्दुको अवस्थाअनुसार यी दुई उपचार विधि अपनाउन चिकित्सकले सिफारिस गर्छन्। डा. पौडेलका अनुसार, शिशुलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ। पाको उमेरका व्यक्तिलाई आँखामा राख्ने औषधि दिइन्छ। औषधिले सुधार हुँदै गएमा शल्यक्रिया गर्नसमेत नपर्ने हुन सक्ने डा. पौडेलको भनाइ छ। क्षति भइनसकेको नसालाई पुनर्जीवित औषधिले गरेको पाइएको छैन। औषधिले क्षति हुनबाट रोक्न सहयोग गर्ने चिकित्सकहरू बताउँछन्। आँखाको अवस्था हेरे शल्यक्रिया पनि गरिन्छ। 

मुलुकभर जलबिन्दु विशेषज्ञहरू झन्डै तीन दर्जन छन्। ती पनि सहरी क्षेत्रमा सीमित छन्। डा. पौडेलका अनुसार समयमै यसको पहिचान भई उपचार गर्न सकेमा दृष्टि गुम्नबाट जोगाउन सकिन्छ। ‘ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहन्छ,’ उनले भनिन्। त्यसैले समयमै जाँच तथा परीक्षण गर्नुपर्छ। सरकारी, गैरसरकारी र निजी क्षेत्रबीचको समन्वय गरेर जनचेतना एवं उपचार प्रवाह गर्नुपर्ने प्रतिष्ठानका कार्यक्रम निर्देशक नवीनकुमार राई बताउँछन्। ‘जनचेतनादेखि उपचारसम्म सर्वपक्षीय सहकार्य, समन्वयको आवश्यकता छ,’ उनले भने। 

जनचेतनाको खाँचो 
सन् २०४० सम्ममा विश्वमा ११ करोड १८ लाखलाई जलबिन्दु हुने अनुमान गरिएको छ। जलबिन्दुको बिरामीले कम्तीमा ६–६ महिनामा जाँच गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। डा. पौडेलका अनुसार ४० वर्षमाथिको उमेर समूहमध्ये प्रत्येक सयमा दुई जनालाई जलबिन्दु हुने विज्ञ बताउँछन्। र्यापिड एसेसमेन्ट अभोइडेबल ब्लाइन्डनेस सर्भे, २०११ का अनुसार कुल अन्धोपनमध्ये पाँच प्रतिशत जलबिन्दुको कारणले हुने गरेको देखाएको छ। 
डा. पौडेलका अनुसार, नसा पूर्ण रूपमा (स्थायी रूपमा) क्षति भएका व्यक्तिको शल्यक्रियापछि पनि दृष्टि फिर्ता नआउन सक्छ। ‘नसा स्थायी रूपमा क्षति भइसकेको अवस्थामा औषधि वा शल्यक्रियाबाट पुनः सक्रिय भएको छैन भने जलबिन्दु भएको थाहा नहुन पनि सक्छ। त्यसैले बेलाबेलामा 

जँचाइरहनु पर्छ,’ उनले भने। प्रतिष्ठानका कार्यक्रम निर्देशक नवीनकुमार राईका अनुसार, जलबिन्दुको समस्या गाउँमा धेरै छ। तर, विशेषज्ञहरू सहरी क्षेत्रमा सीमित भएका कारण पहिचान र उपचारमा पहुँच पुगेको छैन।

जोखिमका को को ?
- परिवारमा जलबिन्दु भएका 
- ४० वर्ष नाघेका
- मधुमेह, उच्च रत्तचापका बिरामी  
- लामो समयसम्म स्टेरोईड्स औषधि सेवन गर्ने
- आँखामा चोटपटक लागेका

लक्षण
- आँखा रातो हुने
- आँखाबाट आँसु आउने
- चक्कर लाग्ने 
- तीव्र आँखा दुख्ने
- टाउको दुख्ने
- धमिलो दृष्टि 
- टाढाको प्रष्ट देख्न नसक्नु

चाप (प्रेसर)ले विस्तारै आँखाको नसा (अप्टिक नर्भ)लाई विस्तारै क्षति गर्छ। नसामा असर पुग्दा दृष्टि क्षमता विस्तारै कमजोर हुन्छ। यसरी नसालाई पूर्णरूपमा क्षति पुर्याई दृष्टिविहीन बनाउने रोग नै जलबिन्दु हो। जलबिन्दु पुनःदृष्टि प्राप्त गर्न नसकिने अन्धोपना हो। यसले वरिपरिको दृष्टि घटाउँदै लान्छ। अनि केन्द्रमा प्रभाव पार्छ। ४० वर्ष नाघेका व्यक्तिमा जलबिन्दु बढी देखिने गरेको छ।-

डा. इन्दिरा पौडेल, प्रमुख तथा जलबिन्दु विशेषज्ञ, तीलगंगा आँखा प्रतिष्ठान

मुलुकभर जलबिन्दु विशेषज्ञहरू झन्डै तीन दर्जन छन्। ती पनि सहरी क्षेत्रमा सीमित छन्। समयमै यसको पहिचान भई उपचार गर्न सकेमा दृष्टि गुम्नबाट जोगाउन सकिन्छ। सरकारी, गैरसरकारी र निजी क्षेत्रबीच समन्वय गरेर जनचेतना एवं उपचार प्रवाह गर्नुपर्छ। जनचेतनादेखि उपचारसम्म सर्वपक्षीय सहकार्य, समन्वयको आवश्यकता छ।

- नवीनकुमार राई, कार्यक्रम निर्देशक, तीलगंगा आँखा प्रतिष्ठान

 

जलबिन्दुको शल्यक्रिया पछि अभिभावकका साथमा ९ महिने चिरञ्जीवी बुढा

जलबिन्दुको शल्यक्रिया गरेका कैलालीका ७ महिने आयाम्स चौधरी

तीलगंगा आँखा प्रतिष्ठानमा उपचार गराउन आएका आँखाका बिरामी