• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

डा.सन्दुक रुइतको संयोजकत्वमा ३६६ जनाको आँखाको शल्यक्रिया

  • 2023-02-06 17:37:05

नेपालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको टोलीले मकवानपुरमा ३६६ जनाको मोतिविन्दुको शल्यक्रिया गरेको छ।

विशेष अभियान लिएर यहाँ आएका उनीसहितको टोलीले हेटौंडा सामुदायिक आँखा अस्पतालमा ३६६ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरेको हो।

भीमफेदी गाँउपालिकाका दुवैं आँखा नदेख्ने ६८ वर्षका सानुमाया प्रजा र उनका ६० वर्षीय भाई शक्तिमान प्रजाको आखाको शल्यक्रिया गरिएको थियो। सानुमाया विगत २ वर्षदेखि दुवै आँखा नदेख्ने भएपछि हातले छाम्दै हिँड्डुल गर्नुपर्ने बाध्यतात्मक अवस्थामा पुगेकी थिइन्। उनले दुई बर्षदेखि कष्टकर जीवन बिताउन बाध्य भएको जानकारी दिँदै दुवै आँखाको ज्योति फर्केकोमा खुसी व्यक्त गरिन्।

‘एक्कासी दुवै आँखाको ज्योति गुम्दा यो दुई बर्ष निकै कहाली लाग्दो बन्यो’, उनले भनिन्, ‘अब म फेरि पुरानै अवस्थामा आएको छु। खुसीको सीमा नै छैन।’

रुइतको टोली मकवानपुर आएको जानकारी पश्चात जिल्लाको विभिन्न स्थानसहित छिमेकी जिल्ला बारा, पर्सा र सार्लाहीबाट समेत आँखाका बिरामीहरु हेटौंडा आएका थिए। यसक्रममा विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी करिब २ हजार भन्दा बढी विरामीहरुको आँखा परिक्षण गरिएको छ। तेज कोहली एण्ड रुइत फाउण्डेशनले बिरामीहरुको शल्यक्रियाको खर्चमा सघाउ पुर्‍याएको थियो। बिरामीको खानपान लगायतको खर्च भने मकवानपुरका लायन्स क्लवहरुले व्यवस्थापन गरेका थिए।

हेटौंडामा तिलगंगा प्रतिष्ठान स्थापनाको तयारी

बागमती प्रदेशको राजधानी हेटौंडामा तिलगंगा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापनाको तयारी गरिएको छ। प्रतिष्ठानका लागि आवश्यक जग्गाको खोजी कार्य समेत सुरु गरिएको छ। नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान हेटौडामा स्थापनाको तयारी गरिएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. सन्दुक रुइतले बताए।

यसका लागि कम्तिमा ७ विगाह जग्गा आवश्यक पर्ने उनको भनाई छ। मकवानपुरका बिभिन्न लायन्स क्लवहरुले आयोजना गरेको सम्मानमा कार्यक्रममा रुइतले जग्गा प्राप्ति भएमा तिलगंगा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका हुन्।

‘सबै कुरा सकारात्मक रहेको छ। प्रतिष्ठान स्थापनाको पूर्वाधार मध्ये पहिलो आवश्यक तत्व जग्गा हो’, उनले भने, ‘हेटौडा सामुदायिक आँखा अस्पतालको ९ किलोमिटर वरपर ७ विगाह जग्गा आवश्यक रहन्छ।’

जिल्लाका लायन्सका अगुवा तथा जनप्रतिनिधिहरुले जग्गाको खोजी गर्ने बताएका छन्।