• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

डा.सन्दुक रुइत लण्डनमा सम्मानित

  • 2023-07-11 13:26:36

लण्डन, असार २५ गते । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । 

नेप्लिज डक्टर्स एसोसिएसन यूकेले आयोजना गरेको कार्यक्रममा डा.रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उसको आँखा मात्र नभै उसको समग्र स्वास्थ्य, पारिवारिक सम्बन्ध र आर्थिक अवस्थामा पनि सुधार आउँछ भन्ने कुरालाई मार्मिक रुपमा प्रस्तुत गर्नुभयो । 

संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा. रुइतले गर्नुभएको कार्यको प्रशंसा गर्दै उहाँले देशविदेशमा प्राप्त गर्नुभएको सम्मानले सम्पूर्ण नेपालीलाई गौरवबाेध गराएको बताउनुभयो । 

एसोसिएसनका अध्यक्ष डा.कमल अर्यालले डा.रुइतको मार्ग निर्देशनबाट आफू चिकित्सा क्षेत्रमा प्रवेश गरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै डक्टर्स एसोसिएसनले गरेका गतिविधिमाथि प्रकाश पार्नुभयो ।  

बेलायतका समाजसेवी तेज कोहलीले डा.रुइतसँगको सहकार्यमा पछिल्ला केही वर्षमा ५० हजार बिरामीको आँखाको सफल उपचार गरेको जानकारी दिनुभयो । तेज कोहली तथा रुइत फाउण्डेसनको सहकार्यमा नेपाललगायत विभिन्न देशमा आँखाको उपचार हुँदै आएको छ । 

बेलायतको प्रतिष्ठित एङ्ग्लिया रस्किन विश्वविद्यालयले असार २६ गते प्रदान गर्ने मानार्थ डक्टर इन साइन्स (महाविद्यावारिधि) ग्रहण गर्न डा.रुइत लण्डन जानुभएको छ । एसोसिएसनकी कार्यकारणी सदस्य आरती हमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  

ref. Gorkhapatra