• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

उज्यालै उज्यालो...

  • 2024-03-01 14:49:45
‘टोला भरके लोग सब कहत रहे कि दुनु आँख ना बनी, फुलके बिगडजाई। बादमे झन्झट होकी, हमर आज पूरा भ्रम हटगेल। पट्टी खोलके बाद लागल की पूरा जाली फटसे हटल और चारो और उज्याली ही उज्याला।’
६७ वर्षीया जयपतिदेवी पासवानले आँखाको शल्यक्रियापछिको अनुभव सुनाउँदा रौतहटको पल्टापुर पल्टुवा गाउँबासी सबै दंग परे। गाउँलेहरू भन्थे रे, दुइटै आँखाको शल्यक्रिया गर्नु हुन्न। आँखा झन् बिग्रिन्छ, पछि झन्झट बेर्होनुपर्ला। तर अहिले जयपतिको मात्र हैन, पूरै टोलवासीको भ्रम हटेको छ। उनी तीन वर्षदेखि दुवै आँखा नदेखेर सकस खेपिरहेकी थिइन्।
हामी उनको घर रौतहट जिल्लाको गुजरा नगरपालिका–७ को पल्टुवा टोल पुग्दा नातिले डोहोर्‍याउँदै शौचालय पुर्‍याउँदै रहेछन्। उनी अत्यन्तै न्युन आयस्तर भएकी पिछडा समुदायकी रहिछन्। एक वर्षअघि प्रयास गर्दा पनि उनले गाउँमा कतै आँखा जँचाउने मौका पाइनन् रे। उनले भनिन्, ‘एक हजार खर्च लाग्ने रहेछ। छोरा इँटाभट्टामा ज्यामी गर्छ। उसँग एक हजार मागें तर उसलाई पनि साहुले समयमा पैसा दिएनछ। एक हजार नपाउँदा जँचाउने मौका गुम्यो। यसपालि तिलगंगा आँखा प्रतिष्ठानले गाडीमा लग्यो। सित्तैमा जँचाइदियो अनि त्यहाँ खाने बस्ने सुविधा दियो। त्यहाँका कर्मचारी त आफ्नै छोराछोरीहरूजस्तै लागेको छ।’
यस्तै, बारा जिल्लाको निजगढ नगरपालिका–१, सिंगोलस्थित तामाङ बस्तीका ७७ वर्षकी एक वृद्ध आमा पनि यस्तै समस्या झेलिरहेका रहेछन्। ‘आ ! मर्ने बेलामा केको आँखा बनाउनु ? काम गर्न सक्ने हैन, बस्ने हो, खाने हो। देखेर के गर्नु छ र ?’ उनी भन्दै थिइन्, ‘जीवनमा अब सपना केही बाँकी छैनन्। देख्ने रहर पनि छैन।’ ‘संसार रमाइलो छ नि, जति बाँचिन्छ हेरेर रमाएर बाँच्ने हो’ भनी हामीले सपना देखाइदियौं। त्यसपछि ‘लु हिँड त्यसो भए’ भन्दै उनी शल्यक्रियामा आउन तयार भइन्। शल्यक्रिया सकिएपछि त उनी दंग। अब कुखुरा कुर्ने रे, बाख्रा चराउने रे, नातिनीसँग घुम्न जाने रे ! आँखा देख्ने भए पछि उनले भनिन्, ‘मेरा त मरेका रहरहरू फेरि एकाएक पलाएर आए।’
सय वर्ष नाघेकी चनमती आमासँग पनि केही सपना बाँकी रहेछन्। भन्दै थिइन्, ‘सय वर्ष पुगिसकें नानी, यो उमेरमा सबै परिवार सँगै बस्न पाए, परिवार देख्न पाए मलाई केही चाहिन्नँ। मर्ने बेला भए पनि आँखा देख्न पाए पुग्छ।’ शल्यक्रिया सकेर दृष्टि फर्किंदा चनमती आमाको आँखामा आँसु थामिएन। ‘मर्नुअघि परिवार पुन : देख्न पाउने भएँ। अब मेरा केही पनि रहर बाँकी रहने छैनन्।’ र दृष्टि पर्खाइमा आशा बोकी आएका ४ सय २६ जनासँग पनि यस्तै यस्तै सपना र कथा भेटिए। कोही बीसौं वर्षदेखि दृष्टि गुमाएका भेटिए त कोही भर्खरै मात्र मोतीबिन्दुको समस्यामा परेका शल्यक्रियाका लागि आएका थिए। अनि कोही एउटा आँखामा त कोही दुवै आँखामा समस्या भएका थिए। न्यूनतम ३९ वर्षदेखि १०० वर्षसम्म कटेका महिला र पुरुषहरूको भीडले निर्माणाधीन तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल भरिभराउ थियो।
निर्माणाधीन निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा गत पुस ६, ७ र ८ गते डा. गोविन्दप्रसाद पौड्याल नेतृत्वको टोलीमा डा. आङजाङमो लामा र डा. स्वीकृति श्रेष्ठ समावेश सो शिविर तिलगंगा आँखा प्रतिष्ठानलगायत नेपाल रेडक्रस सोसाइटी, निजगढ प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ नगरपालिकाको संयुक्त आयोजना तथा फ्रेड हलोज फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो। बाराको निजगढ थारु, मधेसी, तेली, कलवार, चमार, तामाङ, राई, मगर, नेवार, क्षेत्री, ब्राह्मण आदि थुप्रै जातजातिको संयुक्त बसोबास भएको क्षेत्र हो।
बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न गाउँमा स्थानीय वडासँग सहकार्य गरी प्राविधिक टोलीले चार हजारभन्दा बढी व्यक्तिको आँखा नि : शुल्क परीक्षण गरिसकेको थियो। जसमा दुवै वा एक आँखामा मोतीबिन्दुु पहिचान भएका ४ सय २६ सेवाग्राहीलाई निर्माणाधीन निजगढ सामुदायिक आँखा अस्पतालमा शल्यक्रियाका लागि ल्याइएको थियो। न्यून आयस्रोत तथा पिछडिएका वर्गहरूको बहुसंख्यक उपस्थिति रहेकाले उनीहरूलाई ल्याउने, लैजाने, खाने र बस्ने सबै सुविधा फ्रेड हलोज फाउन्डेसनको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले व्यवस्था मिलाएको थियो।
तराईका जिल्लाहरू मोतीबिन्दुुको जोखिम रहेकामध्ये सबैभन्दा बढी संख्या रहेका जिल्ला हुन्। निरन्तर तीनदिने मोतीबिन्दुुको शल्यक्रिया शिविर सञ्चालन गरिरहँदा स्थानीय सहयोगी संस्था र व्यक्ति थुप्रै भेटिए। रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का अध्यक्ष नितेश चौधरीले अनुभव यसरी सुनाए, ‘निःशुल्क आँखा शिविर भनेर बोलाउँछौ अनि पछि दबाई खर्च, चश्मा खर्च भन्दै पैसा माग्छौ, हामी त जाँदैनौं भन्छन्। सर्वसाधारणका यस्ता गुनासा सुल्झाउन कठिन हुने रहेछ। पछि उहाँहरूले गाडी सुविधा, बस्ने, खाने र दबाई सबै निःशुल्क सहित अझ आँखा देखेपश्चात ‘ए मेरो भगवान्’ भनेर रुँदै अँगालो हाल्नुहुन्छ। उहाँहरूको भावनाको विस्फोट हुँदा हामी वडा प्रतिनिधि पनि सँगै रुन्छौ।’

- कुँवर, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत जनसम्पर्क विभागकी सहायक व्यवस्थापक हुन्।