• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

'सरकारले चाहेर पनि तिलगंगाजस्तो अस्पताल बनाउन सक्दैन'

  • 2022-03-30 14:15:26

'सरकारले चाहेर पनि तिलगंगाजस्तो अस्पताल बनाउन सक्दैन । नक्कल गर्न आवश्यकता पनि छैन । यस्तो अस्पताल किन दुई वटा चाहियो त ?'

आँखा स्वास्थ्यकाे क्षेत्रमा तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा मात्र होइन विश्वमा नै आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । स्वदेशमै लेन्स उत्पादन गरेर आत्मनिर्भर बनिसकेको प्रतिष्ठानले बर्सेनि दूरदराजमा आँखा शिविर पनि गर्दै आइरहेको छ ।

प्रतिष्ठानकी परिकल्पनाकार तथा संस्थापकमध्येकी एक हुन्, प्रमुख कार्यकारी अधिकृत तथा कोर्निया विशेषज्ञ डा‍. रीता गुरुङ । करिब ८० हजार मोतिबिन्दुको शल्यक्रिया गरेकी गुरुङसँग ईकान्तिपुरकी बुनु थारुले गरेको कुराकानी:

तिलगंगा प्रतिष्ठानसँग कसरी जोडिन आइपुग्नुभयो? सुरुवाति दिनहरु कसरी सम्झिनुहुन्छ ?

बेलायतबाट अध्ययनमा रहेको बेला नै योजनाहरुका विषयमा हामी डा. सन्दुक रुइत र म चिठी लेखिरहन्थ्यौं । अध्ययन गरेर फर्किएपछि मैले पोखराको हिमालय आँखा अस्पतालमा एक वर्ष काम गरेँ । म त्यहाँको पहिलो नेत्र रोग विशेषज्ञ पनि हो ।तिलगंगा कसरी सुरु गर्ने भनेर थापाथलीमा भाडाको सानो अफिस थियो जहाँ हामी क्लिनिकलभन्दा प्लानिङका बढी कुरा गर्थ्यौ‍ं ।

नेपाल आँखा अस्पतालमा पनि मेडिकल अफिसरको रुपमा काम गरेँ । काम गर्दै जाँदा आँखा क्षेत्रका अरु दिग्गज व्यक्तिहरुसँग भेट्ने मौका मिल्न थाल्यो । सो समयमा हामीले आँखा शिविर पनि गरिनै राखेका थियौँ । सन् १९९४ को जनवरीमा काम सुरु गरिसकेकाे भए पनि जुनमा उद्घाटन भयो ।

त्यतिबेला हामी दुई जना डा. रुइत र म मात्र आँखाको डाक्टर थियौँ । हाम्रो ठूलो सोच पनि थिएन एकतिर बिरामी हेर्ने र अर्कोतिर अपरेशन गर्ने । ठूलो प्लान गर्नलाई स्रोत साधन पनि थिएन। तर सपना देख्न छोड्नुहुन्न भन्ने पनि हो । हामीले मोतिबिन्दुको सर्जरीबाट नै सुरु गरेको हो ।मोतिबिन्दु नेपालसँगै विश्वकै अन्धोपनको प्रमुख कारण हो । ६० प्रतिशतभन्दा बढी व्यक्ति अन्धो छन् त्यसको प्रमुख कारण मोतिबिन्दु हो । जुनमा अस्पताल सुरु गरेपछि सेप्टेम्बरमा हामीले आँखा बैँक कार्यक्रम सुरु गरिहाल्यौँ । त्यसपछि अरु सेवाहरु पनि थपिँदै गए । अहिले हामीसँग विभिन्न विशेषज्ञता हासिल गरेका ३२ जना चिकित्सक छन् । पशुपति विकास क्षेत्रले हामीलाई ९९ वर्षको भोग चलनको लागि दिइएको जग्गा हो । अहिले भने अलि फेरिएको छ । हामीले पशुपति क्षेत्र विकास कोषलाई नोमिनल भाडा तिर्छौं ।

तिलगंगालाई यहाँसम्म ल्याउन तपाईंको पनि मुख्य भूमिका छ । तिलगंगाले कसरी आँखा स्वास्थ्यमा विशिष्ट स्थान बनाउन सफल भयो, कस्ता खालका अप्ठ्यारा आए?

एउटा कुरा त सपना देख्नुपऱ्यो । अवास्तविक सपना त होइन तर कहिलेकाहीँ देख्नुपनि पर्छ । योचाहिँ गर्नुपर्छ भनेर सपना देख्नुपर्छ । मान्छेको लगाव हुन जरुरी छ । अस्पताल ८ बजे खुुल्छ । तर म आधा घण्टा ढिलो आएमा कसैले भन्दैन । तर म के सोच्छु भने साढे ७ बजे जाँदा मलाई देखेर भाइबहिनीहरुले पनि छिटो काम सुरु गर्छन् ।

यदि म केही गर्छु भने त्यसलाई बोझको रुपमा लिन्न । यदि कुनै पनि काम गर्दा रमाइलोको रूपमा लियो भने गज्जब हुन्छ । आधा घण्टा बढी घरमा बसेर केही हुनेवाला छैन । तर यहाँ आएपछि त्यति समयमा धेरै काम हुन सक्छ । तिलगंगा सुरु गर्दा सातै बार २४ सै घण्टा यही हुन्थ्यौँ । कुनै कुनै मान्छेले फरक नगर्दासम्म केही हुन्न । यो सरकारी होइन तर सार्वजनिक ठाउँ भइसक्यो । अहिले दैनिक १२०० देखि १३०० सम्म बिरामी आउँछन् । यो सबै एक वा दुईजनाले गरेर होइन ठूलो ग्रुपकाे कमिटमेन्ट अनि लगाव छ । डा‍. रुइतले एउटा भिजन राखे हामीले त्यसलाई पछ्याऔ ।

हामीले मोतिबिन्दुको दिवा अपरेशन सुरु गरेका थियौँ । त्यतिबेला हामीसँग पैसा थिएन ।अपरेशन गरेपछि नर्सिङ केयर २४ सै घण्टा चाहियो । यस कारण हामीले के सोच्यौँ भने मोतिविन्दुको सर्जरीको गुणस्तर बढाएर राम्रो सर्जरी गर्दा त यहाँ बस्नुपर्दैन । यो कुरामा विरोध आएको थियो तर अहिले धेरै अस्पतालले यसै गर्छन् । सर्जरी गरेपछि अस्पताल बस्नुपर्दैन ।अस्पतालको बेडभन्दा त घरकै बेडमा बिरामीलाई सुत्न मनलाग्छ नि ! सर्जरी गर्छन् जान्छन् । थुप्रै चुनौतीहरु आए । पैसा थिएन । कति पटक सुखसाथ कति पटक दु:खका साथ काम गर्‍यौँ । हामीलाई यो पनि थाहा थियो कि दु:खका दिन सधैँ उस्तै हुँदैनन् । यदि हामीले कडा मिहिनेत गऱ्यो भने यो छोटो समयका लागि हो भन्ने कुराको बोध थियो ।

अस्पतालमा बिरामीको चाप निकै बढेको देखिन्छ । आँखाको बिरामी बढेका की जनचेतना पुगेको ? सेवालाई कसरी व्यवस्थापन गरिराख्नुभएको छ?

विशेषत:फागुन, चैत अनि वैशाखमा बिरामी बढ्छन् । दैनिक हजार जनासम्म बिरामी आउने गरेकामा अहिले १२०० देखि १३०० सम्म आइरहेका छन् । यो संख्या कोभिडको अवरोधले पनि बढाएको हो । कोभिडले गर्दा २ वर्ष बिरामी आउन पाएनन् । त्यति बेलासम्म मोतिबिन्दुका बिरामी त बढ्छन्। त्यो एउटा कारण भयो । अस्पताल जानुपर्छ भनेर चेतना पनि बढेको होला। हामीले राम्राे सेवा दिने कोसिस गरिरहेका छौँ । कहिले सफल भइन्छ होला कहिले असफल तर प्रयास गर्न भने छोड्नुहुन्न । हामीले चिकित्सकको काम गर्ने समय बढाएका छौँ । ८ बजेदेखि ६ बजेसम्म अस्पतालमा सेवा पाइन्छ । बिरामीहरुले ई-सेवा, अस्पतालको वेबसाइट तथा कल-सेन्टरबाट अपोइनमेन्ट लिन सक्छन् । अस्पतालमा बिरामीको चाप बढेसँगै समुदायमा पनि आँखाको समस्या बढिरहेको छ । त्यसैले हामीले आँखा शिविरहरु पनि गर्दै आइरहेका छौ‌ं । धेरै भन्दा धेरै बिरामीहरु अन्धो भएर बस्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो । वर्षमा ४० देखि ४५ वटा सम्म आँखा शिविर सञ्चालन हुन्छ । विशेषगरी दूरदराजमा हामी काम गरिरहेका छौँ।

आँखा बैंक पनि सञ्चालन गरिरहनुभएको छ । आँखा दानको अवस्थाचाहिं कस्तो छ ?

अस्पतालको स्थापना भएको ३–४ महिनामा हामीले आँखा बैंक पनि सुरु गरेको हो । हामीले सुरुमा जति पनि आँखाको नानी प्रत्यारोण गर्थ्यौ‌ं अमेरिकामा रहेका साथीहरुले दान गरेर पठाउँथे । त्यो अवस्था अहिले छैन ।कहिले-कहिले दुई –चार वटा कोर्निया विदेशमा पनि पठाउँछौँ । उता पनि त्यति नै बिरामी छन् जो कोर्निया नपाएर दृष्टि गुमाएर बसिरहेका छन् । यो हाम्रो सफलता कथा हो । पाटन, वीर, त्रिवि, गंगालाल जस्ता ठूला अस्पतालमा जहाँ मृत्युको सम्भावना बढी हुन्छ सबैमा आँखा दान परामर्शकर्ता राखेका छौँ ।अस्पतालका नर्सले समन्वय गर्नुहुन्छ त्यसपछि हामीले आँखा दानबारे बुझाउँछाैँ । धेरै मान्छेहरु आँखा दान गर्न इच्छुक हुुनुहुन्छ । कोभिडभन्दा अघि हामीले झन्डै झन्डै वार्षिक ११०० नानी प्रत्यारोपण गर्न सफल भएका छौँ । गर्वको कुरा भनौँ हामीलाई अहिले कुनै पनि देशबाट कोर्निया ल्याउनुपर्दैन । यसका लागि सबै दान दिने परिवारलाई धन्यवाद दिन चाहन्छु ।

तिलगंगाले आँखाको लेन्स उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउनुका साथै निर्यात पनि गरिरहेको छ । कोभिडको बेला त समस्या आयो होला नि ?

अस्पताल खोल्ने धारणा लेन्स उत्पादनबाट सुरु भएको हो । तिलगंगा सुरु भएदेखि लेन्स उत्पादन पनि सुरु भएको हो । १९९४ मा पहिलो कमर्सियल प्रोडक्सन भयो । लेन्स मानिसको शरीरभित्र जाने चिज भएकोले यसको क्वालिटी कन्ट्रोलमा एकदम ध्यान दिएका छौँ । हरेक वर्ष विभिन्न क्वालिटी स्ट्यान्डर्ड पास गर्नुपर्छ। उद्योगमा बसेर सानो प्रोडक्सनले पैसा कमाउन सक्दैनौ ।मास प्रोडक्सन हुनुपर्छ त्यो भयो भने मात्र युनिटको कस्ट डाउन हुन्छ र सबैको पहुँचमा पुग्न सक्छ । पहिले मोतिबिन्दुको अपरेशन त गरिन्थ्यो तर मोटो चस्मा लगाउनुपर्थ्यो। अपरेशन गरे पनि चस्मा नलगाइ देखिँदैन थियो । केही मान्छेले मात्र त्यतिबेला लेन्स किन्नसक्थे ।किनभने एउटा लेन्सको दाम नै त्यति बेलामा १५० देखि २०० डलरसम्म पर्थ्यो । लेन्सको मूल्य नघटेसम्म मोतिबिन्दुको सर्जरी माथि जान सक्दैन भन्ने थाहा पाएर हामीले यो सुरु गरेको हो । त्यसको उत्पादन राम्रोसँग भइरहेको छ । मूल्य पनि सर्वसूलभ छ । सबै नेपालीले किन्न सक्छन् ।लेन्स सस्तो हुँदा ठूला कम्पनीसँग मनमुटाव पनि भएको हो । उनीहरुको लेन्स अझै पनि महंगो छ ।हामीले सामाजिक कर्तव्यका साथ यो कामलाई लियौँ । पैसामामात्र सिमित नराखेर सबैले यो चिज पाउनुपर्छ भन्ने हाम्रो मिसन हो त्यसलाई कार्यान्वयन गरेका हौँ । लेन्स उत्पादनबाट पैसा आउँछ त्यसबाट कमाएको पैसा हामीले उपचारमा लगाउन पायौँ ।

हामीले गुणस्तर कायम गरेर नै उत्पादन क्षमता बढाउन खोजिरहेका छौँ । हाल वार्षिक २ देखि ३ लाखसम्म उत्पादन भइरहेकोमा हाम्रो प्लान भनेको १२ देखि १३ लाखसम्म बनाउने हो । यसका लागि मेसिन, जनशक्ति तथा पूर्वाधार पनि ठूलो चाहिन्छ ।त्यसैले यहाँबाट सर्छाैं हाेला । कोभिडले काम गर्न आउने मान्छे आउन गाह्रो साथै बाहिरबाट कच्चा पदार्थ पनि ल्याउन गाह्रो भएर उत्पादनमा कमी आएको थियो ।विश्वभर नै सर्जरी ठप्प हुँदा कति लेन्स एक्सपायर पनि हुन पुगे ।

तिलगंगाका अरु सञ्जालहरु कहाँ-कहाँ छन्?

हामी धेरै जिल्लामा रहेर काम गर्छौँ । विभिन्न १८ वटा जिल्लामा सामुदायिक आँखा सेन्टर छन् जुन जिल्लाको सदरमुकाममा छन् जसमा आँखाका स-सानाको रोगको उपचार हुनुका साथै आँखा जाँच पनि हुन्छ ।पहाडी तथा हिमाली क्षेत्र मनाङ, मुस्ताङ, रसुवा, हुम्लालगायतका ठाउँमा पनि आँखा सेन्टरहरु खोलिएका छन् । हामीले स्थानीय सरकारसँग पनि काम गरिरहेका छौँ । पालिकाहरुसँग मिलेर ग्रामीण आँखा क्लिनिक र सहरी आखाँ क्लिनिक भनेर चलाएका छौँ । पालिकामा हुने क्लिनिकहरुको मोडालिटी सेन्टर भन्दा अलि फरक छ । दूरदराजमा आँखा शिविर सञ्चालन भइ नै रहेको छ । दूरदराजमा रहेका मोतिबिन्दुका कारणले दृष्टि गुमाएका मान्छेहरुलाई अहिले पनि आँखा शिविर गर्न जरुरी छ । मुस्ताङका बिरामीलाई यहाँ ल्याउन पनि कठिन छ र त्यहाँ अर्को आँखा अस्पताल स्थापना गर्न पनि गाह्रो छ । कतिले भन्छन् अझै पनि शिविर आवश्यक छ र? तर हाम्रो देशको परिस्थिति , भूगोल, पूर्वाधारको कमिले गर्दा पनि जरुरी छ । तिलग‌ंगा जस्तो अस्पताल अरु ठाउँमा बनाउँछु भनेर भन्न सकिँदैन किनकि यसका लागि धेरै भन्दा धेरै स्रोतको आवश्यकता पर्छ । तिलगंगालाई नक्कल गर्न त सकिँदैन तर सानो अस्पताल बनाउन सकिन्छ । त्यही अनुसार हेटौंडामा अस्पताल छ । निजगढमा पनि बनाउने तयारीमा छौँ । यी अस्पालमा मोतिबिन्दुको राम्रो सर्जरी होस् र अरु पनि सानोतिनो रोगहरुको उपचारका लागि लामो यात्रा गर्न नपरोस् । समय अनि खर्च जोगियोस् भन्ने साेच हाे ।

आँखा स्वास्थ्यमा महिलाको पहुँच किन कम देखिन्छ ?

हाम्रो देशमा मात्र होइन विदेशमा पनि छोरी मान्छेमा हुने अन्धोपनको प्रिभेलेन्स छोरा मान्छेहरुमा भन्दा बढी छ । ६६ प्रतिशत महिलामा आँखाको समस्या छ भने ३३ प्रतिशत पुरुषमा । यो विभिन्न अध्ययनले देखाएको तथ्यांक पनि हो । अस्पतालमा हेर्दा बिरामीको अनुपात पुरुष र महिलाको दुवै उस्तै देखिन्छ तर त्यो होइन । यति धेरै मात्रामा महिलाहरुमा समस्या देखिएको छ भने त उनीहरुलाई सेवा पनि डबल चाहियो नि ! किन सेवा लिन महिलाहरु आउँदैनन्? कारण थुप्रै हुन सक्छन् । कुनै दूरदराजमा छोरी मान्छेलाई आँखाको समस्या छ भने एक्लै आउन सक्दैनन् । कसै न कसैले लिएर आउनुपर्ने हुन्छ । शिक्षा तथा जनचेतनाको कमी पनि हाे । पहाडमा भन्दा मधेसमा झन् यसको धेरै समस्या छ । सामाजिक कारणले हाेला। मेरो आँखा कमजोर भएपछि अस्पताल गए निको हुन्छ भन्ने चेतना नै छैन । एउटै घरमा आमाबुवा आँखा नदेख्ने भए आमा प्राथमिकतामा पर्दैन किनकि ऊ घरमूली हुँदैन ।

आँखा स्वास्थ्यमा राज्यले जति गर्नुपर्ने हो त्यति नगरेको देखिन्छ? सबैलाई कसरी उपचारको दायरामा ल्याउन सकिन्छ होला?

नेपालको आँखा स्वास्थ्यमा सरकारले केही सहयोग त गरेको छ तर यो क्षेत्र अलि पछाडि नै परेको छ । तिलगंगा जस्तो अरु अस्पतालले गर्दिहालेका छन् नि हामीले किन गर्नुपऱ्यो भनेर पनि होला । दोष लगाउन खोजेको होइन । अहिले गाउँपालिकासँग बजेट छ उनीहरुले पनि अहिले हातेमालो गर्न चाहिरहेका छन् ।

सरकारले प्राथमिकता नदिएको त भन्न मिल्दैन बिस्तारै गर्छ होला । हामीले विभिन्न छलफलमार्फत् आँखा स्वास्थ्य नीति ल्याउनुपऱ्यो भनेका थियाैँ तर सरकारले प्रत्येक अंगको स्वास्थ्य नीति नबनाऔँ भनेर स्वास्थ्य नीति मात्र बनायो । उक्त नीतिमा आँखाका २–३ वटा कुरा परेका छन् । जस्तै आँखा,नाक, कान तथा घाँटीको एउटा युनिट खोलिएको छ त्यो राम्रो हो । आँखा स्वास्थ्यको क्षेत्र पब्लिक प्राइभेट पार्टनरसिपमा जाने भन्ने नीति ल्याएको छ।

सरकारले चाहेर पनि तिलगंगा बनाउन सक्दैन। नक्कल गर्न आवश्यकता पनि छैन । यस्तो अस्पताल किन दुई वटा चाहियो त ? सरकारले कर छुटमा केही सहुलियत दिएको छ । एमडी नि:शुल्क गरेको छ । चिकित्सकहरु उत्पादन भइरहेका छन् । दूरदराजमा गइरहेका छन् । बन्द भएका आँखाका डिपार्टमेन्ट खुलेका छन् ।

सबैलाई उपचारकाे पहुँचमा पुर्‍याउन सरकारले ल्याएको स्वास्थ्यमा बीमा राम्ररी लागू गर्नुपर्छ। सरकारले आँखाका डिपार्टमेन्ट नबनाए पनि हामी जस्तो अस्पतालसँग सेवा किन्न पनि त सक्छ नि ! जसले गर्दा हामी पनि बाँच्न सक्छौँ र जनताले पनि सुविधा पाउँछन् ।

तिलगंगाका भावी योजनाहरु के के छन्?

त्यति ठूला याेजनाहरु त छैनन् । तिलगंगालाई अहिले पनि चलाउन त्यति सजिलो छैन। सधैं त्यही स्तरमा चलाउन पनि गाह्रो हुन्छ । तर प्रयास जारी राख्नुपर्छ ।हाम्राे सेवालाई बढाएर लाने लेन्सको उत्पादन बढाउने, सानो अस्पतालहरु खोल्ने हाम्रो लक्ष्य हो । साथै हामीकहाँ आँखा रोगको पढाइ पनि हुन्छ । जनशक्ति उत्पादनमा पनि हामीले योगदान दिएका छौँ र निरन्तर रहनेछ ।