• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

सन्दुकको सत्कार्य

  • 2022-03-30 14:07:50

समाजसेवा तथा मानवीय सहयोगका अभियानमा समेत आ–आफ्ना स्वार्थ जोडिन थालेको अहिलेको जमानामा पनि केही नेपालीले भने साँच्चिकै परोपकार गरिरहेका छन् । औंलामा गन्न सकिने त्यस्ता सीमित व्यक्तिमध्ये डा. सन्दुक रुइतको नाम सहर्ष लिन सकिन्छ ।

देशभित्र र बाहिरसमेत आँखाको उपचार, मोतीविन्दु शल्यक्रिया तथा बाह्य बजार मूल्यभन्दा निकै सुलभ मूल्यमा लेन्स उत्पादन गरेर नाम–काम कमाएका डा. रुइतको टोली तथा तिलगंगा अस्पतालको पुनीत कामले फेरि चौतर्फी स्याबासी पाएको छ । हालै रामेछापको दोरम्बामा आयोजित आँखा शिविरमा तिलगंगा र तेज कोहली एन्ड रुइत फाउन्डेसनको संयोजनमा ३ सय ३३ जना दृष्टिविहीन सर्वसाधारणले एकैचोटि उज्यालो पाएको शुभ–समाचार उनकै अग्रसरताको पछिल्लो उदाहरण हो । साधारणजनलाई सजिलै आँखाको ज्योति प्रदान गर्ने उनको यो सत्कार्य जति उत्साहप्रद छ, त्यति नै परोपकारी कर्ममा विश्वास राख्ने अरूका लागि उदाहरणीय पनि ।

लोककल्याणकारी राज्यको सबैभन्दा छर्लंग देखिनुपर्ने चरित्र भनेकै शिक्षा–स्वास्थ्यमा राज्यको दह्रो पहुँच र उपस्थिति हो । तर दुर्भाग्य, यिनै क्षेत्रमा अति भद्दा व्यापारीकरण छ । र, राज्यको हस्तक्षेपकारी भूमिका गयल छ । यो विषम परिस्थितिमाझ झन्डै अढाई दशकयता आँखा उपचार सेवामा उदाहरणीय कार्य गर्दै आएको तिलगंगा आँखा अस्पतालले आफैं स्रोतसाधन र प्रविधि पहिल्याएर देशैभर गरेको सेवा वितरण प्रशंसनीय छ । आँखा शिविरको भिन्न संस्करणका रूपमा विशेषतः दुर्गम तथा आर्थिक हैसियतविहीन समुदायमा यसले पुर्‍याएको निःशुल्क सेवालाई ‘परोपकारी कामको विस्तार’ का रूपमा लिन सकिन्छ । यस कार्यका निम्ति स्रोत–साधन जुटाउन डा. रुइतले आफ्नो अन्तर्राष्ट्रिय पहिचान र विश्वासका आधारमा बेलायतवासी उद्यमी तेज कोहलीबाट सहयोग पाएका छन् । यसरी आफ्नै पहलमा ‘च्यारिटी’ जुटाएर पनि यी डाक्टरले नेपालको स्वास्थ्य सेवा, अझ त्यसमा पनि आँखा उपचारका क्षेत्रमा थप सेवा पुर्‍याइरहेका छन् ।

राज्यले स्वास्थ्य सेवाका अरू विधामा तुलनात्मक रूपमा तैबिसेक स्रोतसाधनको जोहो मिलाए पनि आँखा उपचारमा भने कामचलाउ ढंगमा मात्रै भरथेग गर्दै आएको छ । आँखा उपचारका केही सरकारी अस्पताल अरू सरकारी केन्द्रझैं कामचलाउ शैलीमा सञ्चालनमा छन् । सरकारी भएकै कारण यिनले स्रोत–साधन जुटाउन वा उपचार पद्धतिमा थप पहुँच पहिल्याउन पनि सकेका छैनन् । यही बेला तेज कोहली एन्ड रुइत फाउन्डेसनले सरकारी अस्पतालहरूलाई आँखा उपचारसम्बन्धी प्राविधिक वा अन्य पनि सहयोग उपलब्ध गराउने भएको छ । अबको एक वर्षमा देशका दुर्गम तथा आर्थिक–सामाजिक पहुँच नभएका स्थानमा मोतीविन्दुका कम्तीमा २५ हजार बिरामीको उपचार गरिने र आउने दिनमा लेन्स उत्पादनको कामलाई उद्योगका रूपमा विस्तारित गर्ने फाउन्डेसनको योजना आफैंमा उत्साहप्रद छ, यसबाट विपन्न नेपालीको आँखा उपचारमा ठूलो टेवा पुग्नेछ ।

खासमा राज्य नै अग्रसक्रिय भएर गर्नुपर्ने कार्यलाई डा. रुइतको टोलीले अघि बढाइरहेको छ । त्यसैले पनि उनको यो सत्कार्यमा सरकारी संयन्त्र र पद्धतिबाट पनि साथ–सहयोग मिल्नुपर्छ । बाहिरी विश्वमा कम्तीमा २० डलर (प्रतिलेन्स) मा उत्पादन हुने लेन्स तिलगंगाले ४ डलरमा उत्पादन गरिरहेको छ र यसरी सीमित रूपमा उत्पादन भैरहेको लेन्सले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न मुस्किल परिरहेको छ । यस्तो अवस्थामा तिलगंगा अस्पतालले हेटौंडामा रहेको आफ्नो स्वामित्वको जमिनमा बृहत् रूपमा लेन्स उत्पादन केन्द्र स्थापना गर्ने भन्दै सरकारसमक्ष राखेको प्रस्ताव मननीय छ, यसमा सम्बन्धित सरकारी अधिकारीहरूले साथ–समर्थनको ठूलो अर्थ रहनेछ ।

डा. रुइतको सत्कार्यको अर्थ बुझ्न सर्वसाधारण नेपालीले भोगिरहेको आँखाको समस्याबारे जान्नुपर्छ । राजधानी काठमाडौंबाट १ सय २५ किलोमिटर दूरीमा मात्रै रहेको रामेछापको दोरम्बामा सञ्चालित आँखा शिविरमा आएका दृष्टिविहीन बिरामीको कारुणिक अवस्थाबाटै राज्यले प्रदान गर्दै आएको विभेदजन्य सेवासुविधा र अवसरबारे सहजै आकलन गर्न सकिन्छ । सामान्यतया जटिल र महँगो उपचार पद्धतिमा नपर्ने आँखाको उपचार गर्नै पनि दिनभरको बाटो हिँडेर शिविरमा आएका अथवा वर्षौंवर्षको अन्धोपन सहेरै घरगाउँमै बस्नुपर्ने वृद्धवृद्धाको नियति कसै गरी स्वाभाविक होइन ।

अझै पनि भौगोलिक विकटता वा आर्थिक अभावमा थुप्रै आँखाका बिरामीहरू अँध्यारोमै बसिरहेका छन् । तथ्यांकअनुसार झन्डै ११ लाख नेपालीमा अन्धोपन वा दृष्टिदोषको समस्या छ । अन्धोपनको ६५ प्रतिशत कारक मोतीविन्दु र यससम्बन्धी समस्या हो । तर, वास्तविक आँकडा योभन्दा निकै बढी हुन सक्ने अनुमान कतिपय विज्ञको छ, दोरम्बा–दृष्टान्तले पनि त्यसको छनक दिन्छ । डा. रुइतको टोलीले आर्थिक र सामाजिक पहुँच अभावमा बसेका बिरामीको उपचार सहजै गर्न सकिने ‘दोरम्बा मोडल’ लाई यसै गरी एसिया र अफ्रिकाका ११ मुलुकमा विस्तार गरिने जनाएको छ, जुन अर्को शुभ–समाचार हो । मानवीय हितको यस्तो उदाहरणीय सत्कर्ममा तल्लीन डा. रुइतको टोली तथा तिलगंगा अस्पताल धन्यवादका पात्र छन् । उनीहरूको यस कार्यमा सरकारको उचित भरथेग मिलोस् र यसको सिको स्वास्थ्य सेवाकै अरू क्षेत्रमा पनि हुन सकोस् ।